कर्णाली को बास्तबिक पीडा मलाई थाहाँछ (प्रचण्ड)

सुर्खेत – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका पीडा आफूलाई जानकारी भएको बताएका छन्।

कर्णाली प्रदेश सहिद दिवस तथा स्थापना दिवसको अवसरमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै उनले कर्णालीको पीडा आफूलाई जानकारी रहेको बताएका हुन्। कर्णालीका कच्ची र कमजोर सडक पूर्वाधारले बढाएको दुर्घटनाको जोखिम तथा बेरोजगारी र अभावले हजारौँ युवा मुग्लान पसिरहेको आफूले बुझेको प्रचण्डको भनाइ थियो।

‘जाडोयाममा मयल पोसेको पातलो कपडा लगाई शिक्षा लिन २ घण्टासम्म नानीबावु हिँड्ने गरेको मैले महसुस गरेको छु। उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति मैले देखेको छु। कर्णालीको गरिबी, पछ्यौटेपन र भूगोलमा म पसेको छु। जनयुद्धकालको संघर्षमय क्षणमा यही क्षेत्रमा बसेर आन्दोलनको नेतृत्व गरेको छु,’ उनले भने, ‘यति मात्र होइन कर्णाली प्रदेशको विशाल सिंजा सभ्यता, विविधतायुक्त भूगोल, सानो जनसंख्या, रारा, उपल्लो डोल्पा, कैलाश पर्वत दृश्यावलोकन गराउने लिमी, फोक्सुण्डो ताल, भेरी र कर्णालीको पवित्र संगम पञ्चपुरी उपत्यकाजस्ता आकर्षक पर्यटकीय गन्तव्य, भेरी र कर्णालीजस्ता सदावहार हिमाली नदीहरुको अपार सम्भावना र अवसरको अनुभूत गरेको छु।’

प्रदेश सरकारले नीति, योजना र कार्यक्रम बनाउँदा यहाँका ऐतिहासिक सम्भावना र जनताको जीवनमा परिवर्तन ल्याउन चाल्नुपर्ने कदमबारे गम्भीर रुपमा सोच्नेछ भन्ने आफ्नो विश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताए। ‘कर्णाली प्रदेशले निर्धारण गरेको विकास, पूर्वाधार र परिवर्तनको लक्ष्य, कर्णालीको मूल्यवान उत्पादन, कृषकहरूलाई प्रोत्साहन, कर्णालीले जे बेच्छ, मूल्यवान उपज बेच्छ जस्ता नारा र कर्णाली समृद्धि अभियान जस्ता कार्यक्रमबाट म उत्साहित छु,’ उनले भने, ‘साँच्चै कर्णाली मुलुककै समृद्धिको मुहान बन्न सक्दछ । कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा रहेको अपार सम्भावनालाई मैले बुझेको छु । कर्णाली एउटा सभ्यता हो । यो मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ ।’

बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रुपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहने प्रधानमन्त्री प्रचण्डले बताए। ‘कर्णालीको विकासलाई मैले सधैं प्राथमिकतामा राख्दै आएको छु। आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘अथाह प्राकृतिक साधनस्रोत हुँदाहुँदै पनि भौतिक पूर्वाधारको अभाव, पूर्वाधार विकासमा भौगोलिक चुनौती एवं आर्थिक स्रोत परिचालनको अभाव, कर्मचारी परिचालन र व्यवस्थापनमा चुनौतीजस्ता विषयहरू गम्भीर प्रकृतिका छन्।’

दुर्गममा कर्मचारी बस्न नचाहने र संघीय सरकारले पनि पर्याप्त ध्यान नदिँदा प्रदेश सरकारका काम कारबाहीहरु प्रभावित भएको भन्ने नागरिकको गुनासोलाई आफूले गम्भीरतापूर्वक लिएको प्रधानमन्त्री प्रचण्डले बताए। ‘आगामी दिनमा यो समस्याको उचित सम्बोधनका लागि आवश्यक पहल लिने विश्वास पनि दिलाउँछु,’ उनले भने, ‘प्रदेशको मेरुदण्डका रूपमा रहेका टेरिटोरियल तथा कोरिडोर विकास अवधारणा, कर्णाली करिडोर, कर्णाली राजमार्ग, भेरी करिडोर, राप्ती लोकमार्ग, थारमारे चौरजहारी जुम्ला शहीद कामी बुढा मार्ग, कैलाश मानसरोबर दर्शन क्षेत्र हुँदै मुक्तिनाथ जोड्ने सडक योजना जस्ता रणनीतिक महत्वका योजना पूरा गर्न संघीय सरकारले पहल लिनेछ।’